Thursday, August 7, 2014

एस्पिरिनको दैनिक सेवनले क्यान्सरको खतरा कम हुने

प्रायः दुखाइ तथा ज्वरो कम गर्न खाइने एस्पिरिनको नियमित सेवनले मानिसमा पेटको क्यान्सरको खतरा कम गर्ने तथ्य पत्ता लागेको छ । लण्डनको क्वीन मेरी विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो तथ्य पत्ता लगाएका हुन् । वैज्ञानिकहरुका अनुसार यदि बेलायतमा ५० सालभन्दा पाका मानिसहरुले १० वर्षसम्म नियमित एस्पिरिन प्रयोग गर्ने हो भने आगामी दुइ दशकमा झण्डै सबा लाख मानिसको उमेर लम्बिनेछ ।

यद्यपि एस्पिरिनको सेवन गर्नुभन्दा पहिले डाक्टरको सल्लाह लिनुपर्ने शोधकर्ताहरुको भनाइ छ । एस्पिरिनकोसेवनले आन्तरिक रक्तश्रावको खतरा समेत हुने भएकाले यसप्रति सचेत हुनुपर्छ । वैज्ञानिकहरुले एस्पिरिनको प्रयोग गरेबाट हुने फाइदा तथा बेफाइदाका बारेमा गरिएका झण्डै २ सय अध्ययन अनुसन्धानको विश्लेषण गरेका थिए । यस क्रममा एस्पिरिनको सेवनबाट पेट तथा आन्द्रा, अन्ननलीको क्यान्सरबाट हुने मृत्युमा ३० देखि ४० प्रतिशतले कमी हुने पाइयो ।

एस्पिरिनको सेवनले स्तन, प्रोस्टेट तथा फोक्सोको क्यान्सरका रोगीलाई समेत फाइदा पुग्ने बताइएको छ । वैज्ञानिकहरुका अनुसार एस्पिरिनको सेवन कम्तीमा ५ वर्षसम्म गर्दा यसको लाभको नतिजा निस्किन्छ । एस्पिरिनको सेवनबाट के कारणले क्यान्सरको खतरा कम हुन्छ भन्ने विषयमा भने थप अनुसन्धानको आवश्यकता रहेको शोधकर्ताहरुले बताएका छन् । बीबीसी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment