प्रतिवेदनअनुसार मासु र कलेजोका ती नमुनामध्ये झन्डै ८० प्रतिशतमा नेपालसहित अन्य मुलुकले आयात र प्रयोगमा प्रतिबन्ध लगाएको अत्यन्त हानिकारक मानिने एन्टिबायोटिक औषधिको अवशेष छ। नमुनामध्ये मासुमा ४० प्रतिशत र कलेजोमा ६० प्रतिशत औषधिको अवशेष पाइएको छ। स्रोतले भन्यो, 'हामीले शरीरलाई स्वस्थ्य राख्न पोसिलो भनेर प्रयोग गर्दै आएको मासुले झन् नकारात्मक असर पुर्याउँदै आएको छ' उच्च परिमाणमा भेटिएको औषधिको अवशेषयुक्त मासु सेवन गर्दा विकलांग बच्चा जन्मिने, ब्रेन ट्युमर, गर्भपतन र हृदयाघात हुने, मिर्गौला बिग्रने, रगतमा हेमोग्लोबिनको मात्रा कम हुनेलगायतका रोग लाग्न सक्छ। यसका साथै यस्तो मासु सेवन गरेको मानिस बिरामी पर्दा सामान्य औषधि र मासुमा पाइएको औषधि समूहको औषधिले छुँदैन।
अध्ययनअनुसार कुखुराको मासु र कलेजोमा टेट्रासाइक्लिन, माइक्रोलिड, सल्फोनामाइड, पेनिसिलिन, इमिनोग्लोकोसाइड, जेन्टामाइसिन, लिबोफ्लोक्सासिन, कोलेस्टिन, सिफ्रोफ्लोक्सासिन, भिर्जिनियामाइसिन, नियोमाइसिन, पेस्टिमिथायललगायत हानिकारक औषधिको मात्रा बढी भेटिएको छ। भेटेनरी जनस्वास्थ्य कार्यालयका वरिष्ठ पशुचिकित्सक बोधनाथ अधिकारीले उत्पादकले थोरै समयमा बढी तौल बढाउन कुखुरामा आवश्यकभन्दा बढी औषधिको प्रयोग गरेको जानकारी दिए। कार्यालयका अर्का अधिकृत डा. मुकुल उपाध्यायका अनुसार गुदीमै पसेको औषधिको असर जे गरे पनि कम गर्न सकिँदैन। उनले भने, 'मासुको बाहिरमात्र छ भने बढी तापक्रममा पकाउनुपर्छ। हानिबाट जोगिन औषधि प्रयोग भएका कुखुरा तत्कालै बिक्री गर्नु हुँदैन, एक महिनापछि बिक्री गरे हानि कम हुन्छ। दुई वर्षअघि पनि खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अध्ययनअनुसार कुखुराको मासु, पांग्रा र कलेजोमा मानव स्वास्थ्यका लागि हानिकारक एन्टिबायोटिकको अवशेष पाइएको थियो।

0 comments:
Post a Comment